नेपालले आज घरेलु टोली भुटानसँग खेल्दै आफ्नो छनोट यात्रा सुरु गर्ने
पोखरा ।
एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ ।
समूह ए मा रहेको नेपालले आज घरेलु टोली भुटानसँग खेल्दै आफ्नो छनोट यात्रा सुरु गर्दैछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ ।
नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ । नेपालले समूह ए मा भुटान, साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाली यू–२० महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले आजदेखि भुटानमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाल तयार रहेको बताए ।
आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको उनले बताए । प्रशिक्षक गुरुङले साफ यु–२० प्रतियोगिता एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए ।
यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो ।
सो समूहमा रहेको अर्को टिम मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
नेपालले समूहको दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियाको सामना गर्नेछ ।
नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ ।
३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् ।
हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छन् ।
प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०९:३४




