म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–५ स्थित पौणाणिक स्थल पछैमा निर्माण भइरहेको ‘रावण पार्क’ तथा अन्तिम चरणमा पुगेको छ ।
बेनी नगरपालिकाको गौरवको आयोजना रहेको रावण पार्कमा ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिको संरचना तयार भएको छ भने १० वटा टाउका,जनै राख्ने, पार्कभित्र फुल रोपण सहित आर्कषक बनाउने काम बाहेक सबै सकिएको छ ।
चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग, स्लेट बिछ्याउने काम, दुवो रोप्नेजस्ता संरचनाको काम सकिएका छ । तपस्यास्थल, मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिएको स्थान यथावत् राखेर मूर्ति, बगैँचा, विश्रामस्थल, घेराबार र जमिन संरक्षणलगायत पूर्वाधार बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
रावण पार्क नजिकै राम र सिताको समेत मुर्ती राखिने छ भने अन्य संरचनाहरु समेत आवश्यकता अनुसार थप गर्ने जनाइएको छ । अहिले करिब ९५ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थपिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उत्पादन विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागतमा आर्थिक वर्ष २०७६÷७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण सुरु गरिएको थियो ।
१४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह आश्रम क्षेत्रमा दक्षिण भारत, भुटान र श्रीलंकाबाट समेत धार्मिक पर्यटक आउने गरी सडक सञ्जाललाई सहज बनाउन लागेको बेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको घुम्ती बैठक तथा पर्यटन प्रर्बधन कार्यक्रममार्फत समेत गलेश्वरधाम मन्दिर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना सहितको माग गरिएको छ ।
पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रममा गरिएको पुण्य हजार गु¬णा बढी फलदायी हुने विश्वास गरिन्छ ।
पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरु भेटिने गरेको छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको छ ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित बेनीलगायत धेरै भूभाग देख्न सकिन्छ ।




