म्याग्दी ।
आर्कषक र मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलिएका म्याग्दीका एतिहाँसिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले घुम्ती बैठक र पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।
पर्यटन बिकास र सम्भावनाको खोजीका लागि बेनी नगरपालिका–५ मा रहेको पौराणिकस्थल पुलस्त्य–पुलहाश्रम–रावणपार्क र बाईसेचौविसे राज्यको एतिहासिक स्थल ढोल्थान दरबार क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको हो ।
घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, वडा नं ५ का वडा अध्यक्ष गोविन्द बानियाँले पौलस्त्य–पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्न नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताए ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पछै क्षेत्रमा रावणपार्क निर्माणसँगै अब पौलस्त्य पुलहाश्रम क्षेत्रको महत्व र विशेषतालाई उजागर गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
यसैबीच विशाल नेपालको एकीकरण हुनुपूर्व नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्य रहेको समयका अवशेषहरू रहेको बेनी नगरपालिका वडा नं ९ ढोल्थान दरबार क्षेत्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर केसीले पर्यटकहरूलाई लक्षित गरेर मुख्य प्रवेशद्वार, ढुंगे कलात्मक प्रवेशद्वार, पदमार्ग र ढुंगा बिच्छ्याइएको जानकारी दिए
उनका अनुसार ढुंगाकै संरक्षणवाल टेवा–पर्खाल, क्यामफायर र आराम बेन्चलगायत संरचनाहरू निर्माण गरिएको छ ।
५ करोडको डिपिआर तयार गरी दरबार क्षेत्रलाई आर्कषित गन्तब्य बनाउने वडा अध्यक्ष केसीको भनाई छ ।
उक्त दरबार क्षेत्रमा तत्कालीन समयका राजाहरूले आफ्ना विरोधीसँग लडाइँ गर्नको लागि अग्लो भू–भाग तथा डाँडामा पुगेर बनाएका दरबार, कुटी र भवनका भग्नावशेषहरू अझै पनि भेटिन्छन् ।
घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम महासंघका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव तथा कार्यक्रमका संयोजक प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार १०:४६




