पोखरा ।
भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ ।
उत्तर कोरिया यू–२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको थियो ।
उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको छ ।
नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू–१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९–० गोलअन्तरले पराजित भएको थियो ।
आजको खेलमा नेपालले जितको लक्ष्य लिएको छ ।
नेपालले आज उत्तर कोरियालाई हराएर समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ ।
नेपालले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
उत्तर कोरियाले भने साउदी अरबलाई १५–० र भुटानलाई १०–० गोलले हराएको थियो । दुई खेल खेलेको भुटानको एक अंक रहेको छ भने साउदी अरब अंकविहीन छ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
प्रकाशित मिति २०८२ साउन २६ गते आइतबार ०९:४३




