पोखरा ।
यही अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा हुने टप इण्ड टी–२० क्रिकेट शृंखला खेल्न जाने नेपाल राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् ।
नेपाली टोली आज अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ ।
सो अवसरमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप तयारीका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने आशा व्यक्त गरे ।
साथै उनले टिम बिल्डअपमा अस्ट्रेलिया भ्रमणले मद्दत गर्ने आशा पनि व्यक्त गरेका छन् ।
नेपाल पहिलोपल्ट यो सिरिजमा सहभागी हुन लागेको हो । नेपालसहित ११ टोली सहभागी हुने यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।
पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ भने नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइकसंग खेल्नेछ ।
त्यस्तै नेपालको दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ भने तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्ससंग खेल्नेछ ।
चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्ससंग खेल्दा नेपालले आफुनो पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ ।
नेपालले अन्तिम खेल २२ अगस्टमा पाकिस्तान शाहीन्ससंग खेल्ने तालिका छ ।
लिग चरणपछि शीर्ष ४ टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ । नेपाल फाइनलसम्म पुगेमा कुल ८ खेल खेल्नेछ ।
सन् २०२३ मा भएको अघिल्लो संस्करणमा जम्मा ५ टोली सहभागी थिए भने यसपटक ११ टोली पुगेका छन् ।
नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका स्वरुप खेल्न लागेको हो ।
नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी–२० आई शृंखला खेल्दैछ ।
टप इण्ड टी–२० क्रिकेट शृंखलामा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किग्ंस्मेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली–होबर्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी छन् ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्सनकुमार झा, भीम सार्की, कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी र लोकेश बम छन् ।
ललितलाई मातृशोक परेकाले उनको स्थानमा शाहब आलमलाई टोलीमा समावेश गरिएको छ ।
प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार ०९:४६




