२०८३ असोज २५ गते आइतबार

राज्य व्यवस्था समिति सभापति पदपूर्तिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल

राज्य व्यवस्था समिति सभापति पदपूर्तिबारे मुख्य सचेतकहरुसँग सभामुखको छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार ०९:१५

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताए ।
उनले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरु अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।

काठमाडैं ।

सभामुख देवराज घिमिरे र राजनीतिक दलहरुका प्रमुख सचेतकबीच कुलिङ अफ पिरियड संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ ।

मंगलबार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताए ।

उनले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरु अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।

विधायिकी कामलाई विश्वसनिय बनाउनुपर्नेमा सबै एकमत रहेको उनले उल्लेख गरे ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘छानविन समितिले रिपोर्ट पेश गरिसकेको छ । त्यसलाई अब कसरी कार्यान्वयन गर्ने, कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय ढंगबाट अघि बढाउने भन्नेकुरा मुख्य पाटो भयो । यस्ता कमजोरी किन भए ? दोषी हाम्रा संरचना हो की, विधायकी कार्यान्वयनमा जनशक्ति नभएको हो की ? संसदमा कानून निर्माणका लागि छुट्टै एउटा महाशाखा निर्माण गरेर विधायिकी कामलाई कसरी विश्वसनिय बनाउने भन्नेमा छलफल भयो । विभिन्न समितिमा विधेयकमाथि छलफल चलाउँछौँ, त्यसको निष्कर्ष तयार गरेर प्रतिवेदन बनाउनुपर्छ । संसदीय समितिका सचिवहरुले ठिक ढंगबाट भुमिका खेल्नुपर्छ । नत्र भने समस्या आउँछ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडमा भएको छेडखानी र

त्यसबारे अध्ययन गर्न गठित छानविन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताए ।

उनले समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएसँगै सभापति निर्वाचनको प्रक्रिया अघि बढाउने बारेमा पनि छलफल भएको जानकारी दिए ।

प्रमुख सचेतक पाण्डेले भने, ‘हामी प्रमुख सचेतकहरुलाई सम्माननीय सभामुखज्युले बोलाउनुभएको थियो । खास गरेर राज्य व्यवस्था तथा सुशासन समितिको बारेमा जुन छानविन विशेष समिति बनेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनको विषयवस्तु आयो । त्यो कार्यान्वयन गर्न समितिको सभापतिको निर्वाचन कसरी गर्ने, आज सभापतिज्युले संसदबाटै राजीनामा घोषणा गर्नुभयो । नियमावलीको व्यवस्थाअनुसार अघि बढाउने भन्ने भयो । प्रतिवेदनमा लेखिएको विषयवस्तुहरु कार्यान्वयनको रुपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको छ ।’

सभापति रामहरि खतिवडाले समितिको सभापति पदबाट मंगलवारको प्रतिनिधि सभा बैठकमा राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रतिवेदनमा लेखिएको विषयवस्तुहरु कार्यान्वयनको रुपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको उनले बताए ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार ०९:१५
हजुरको प्रतिक्रिया