२०८३ साउन २१ गते बिहीबार

मादी–७ मा घरदैलोमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण

मादी–७ मा घरदैलोमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २९ गते बुधबार १०:३२

“जनताले हामीलाई भोट दिएर जिताउनुभएको उहाँहरूको सेवा गर्न हो, कार्यालयमा बसेर मात्र हुँदैन, “अध्यक्ष गुरुङले भने, “हामीले बिदाको दिन र रातिको समयसमेत उपयोग गरेर कोही पनि नछुटुन् भन्ने सुनिश्चित गरेका छौं।”

पोखरा ।

कास्कीको मादी गाउँपालिका वडा नं. ७ ले स्थानीय सरकार नागरिकको घरदैलोमा पुग्नुपर्छ भन्ने नारालाई व्यवहारमा उतारेको छ ।

वडा अध्यक्ष दुर्गा गुरुङ र वडा सचिवको टोलीले बिदाको दिनसमेत नभनी रातिसम्म जनताको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण सेवा प्रदान गरेको छ ।

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा एकल महिलाहरू जो वडा कार्यालयसम्म पुग्न कठिनाइ महसुस गर्छन्, उनीहरूलाई लक्षित गरी वडाले यो घरदैलो अभियान चलाएको हो ।

वडा अध्यक्ष दुर्गा गुरुङले नागरिकको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको बताउँदै अशक्त र वृद्धवृद्धालाई सास्ती नहोस् भनेर घरमै पुगेर सेवा दिएको जानकारी दिए ।

“जनताले हामीलाई भोट दिएर जिताउनुभएको उहाँहरूको सेवा गर्न हो, कार्यालयमा बसेर मात्र हुँदैन, “अध्यक्ष गुरुङले भने, “हामीले बिदाको दिन र रातिको समयसमेत उपयोग गरेर कोही पनि नछुटुन् भन्ने सुनिश्चित गरेका छौं।”

 

यस अभियानमा वडा सचिवको सहयोग र सक्रियता अत्यन्तै प्रशंसनीय रहेको स्थानीयले बताएका छन् ।

बिदाको दिनमा समेत रातिसम्म घरघरमा पुगेर तथ्यांक संकलन र नवीकरण कार्यमा खटिएको सचिवको टोलीले स्थानीयको मन जितेको छ ।

एक स्थानीय वृद्धले खुसी हुँदै भने, “वडा अध्यक्ष र सचिव आफैं हाम्रो आँगनमा आएर काम गरिदिनुभयो । यस्तो सेवा पाउँदा साँच्चै सरकार घरमै आएजस्तो लाग्यो ।”

मादी गाउँपालिका वडा नं. ७ मा स्थानीय सरकारप्रतिको विश्वास र सम्मान बढाएको छ भने अन्य वडाहरूका लागि समेत प्रेरणाको स्रोत बनेको छ ।

प्रकाशित मिति २०८२ साउन २९ गते बुधबार १०:३२
हजुरको प्रतिक्रिया