काठमाडौ ।
वागमती प्रदेशमा गाई तथा भैँसीमा तिब्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा यो अभियान भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत प्रदेशभरका ११९ वटा स्थानीय तहमा करिव १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ । मन्त्रालयकाअनुसार यो खोप सुरक्षित र प्रभावकारी छ ।
लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन्। पछिल्लो समय चितवन जिल्लामा यो रोग तिब्ररूपमा फैलिएको छ ।
यही रोगको प्रभाव न्युनिकरणका लागि खोप अभियानको शुरुवात ललितपुर जिल्लाबाट गरिनेछ भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २ सय १८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।




