गोरखा ।
गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–२ ल्होमा गएराति भीषण आगलागी हुँदा सातवटा घरमा क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय लार्केका अनुसार साउन ३० गते राति करिब ११ः३० बजे स्थानीयवासी खेतमा घाँस काट्न गएका बेला गाउँमा अचानक आगलागी भएको हो।
आगो नियन्त्रणका लागि प्रहरी टोली प्रमुख प्रहरी वरिष्ठ हवल्दार तारा कुमार श्रेष्ठको नेतृत्वमा खटिएको थियो।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीमा मानवीय क्षति नभए पनि सात घर पूर्ण तथा आंशिक रूपमा जलेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार पासाङ लामाको घरबाट आगो सुरु भएको र विद्युत् सर्ट कारण हुन सक्ने अनुमान गरिएको छ।
क्षति हुने घरहरूमा पासाङ लामाका दुईवटा दुई तले कच्ची घर, छेवा रेक्जीन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा र छिने लामाका घर रहेका छन्। तीमध्ये पाँच घर पूर्ण रूपमा नष्ट भएका छन् भने दुई घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
यस आगलागीसम्बन्धी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्।




