काठमाडौं ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएको हो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन ।
मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए ।
त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो । नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०८:०८




