२०८३ असोज २३ गते शुक्रबार

बैंकहरुले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औषत व्याजदर झनै घट्यो

बैंकहरुले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औषत व्याजदर झनै घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ११:२९

पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ ।
बजारमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन् ।
वाणिज्य बैंकहरुले मात्रै नभइ विकास बैंकहरुको ब्याजदर भने स्थिर देखिन्छ ।

काठमाडौं ।

भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् ।

बैंकहरुले जारी गरेको विवरणहरुअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ ।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन् ।

यसैगरी साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औषत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ ।

बैंकहरुले दिएको जानकारीअनुसार एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ ।

प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पु¥याएको छ ।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ ।

यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन् ।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ ।

बजारमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

वाणिज्य बैंकहरुले मात्रै नभइ विकास बैंकहरुको ब्याजदर भने स्थिर देखिन्छ ।

अधिकांश विकास बैंकले साउनकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् ।

गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्रता दिएका छन् ।

साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

अन्य विकास बैंकले समेत साउनकै ब्याजदरलाई निरन्तरता दिने संकेत देखाएका छन् ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ११:२९
हजुरको प्रतिक्रिया