२०८३ साउन २१ गते बिहीबार

पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी

पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १ गते आइतबार ०७:३८

यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७ औं वर्ष सहकार्य गरिसकेको छ ।

काठमाडौं ।

पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् । २०६० सालदेखि हुँदै अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदैछ ।

पहिलोपल्ट उपत्यका बाहिर हुन लागेको अवार्डको पिपल्स च्वाइस विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन पिपल्स च्वाइसमा परेका पाँच जना खेलाडीको मनोनयन सार्वजनिक ग¥यो । क्रिकेटकी पूजा, टेबल टेनिसकी इभाना र भलिबलका हिमाल भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन् ।

पूजा भारतमा क्रिकेट प्रशिक्षण गरिरहेकी छिन् भने इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले नेपाली खेलकुदका चर्चित पाँच खेलाडीलाई यस विधामा छनोट गरेको हो ।

पछिल्ला समय नेपाली खेलकुदमा सफलतासँगै चर्चामा रहेका खेलाडीलाई यस विधामा समावेश गर्ने गरिन्छ । उसुका विजयले जापानमा सम्पन्न तेस्रो थाउलु विश्वकपमा काँस्य पदक जितेका थिए । इभाना भने दक्षिण एसियाली टेबलटेनिसमा चार पदक विजेता हुन् ।

पूजाले आफ्नो कप्तानीमा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपाललाई च्याम्पियन बनाउँदै यु–१९ विश्वकपको यात्रा तय गराएकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी र साफ महिला च्याम्पियनसिप २०२४ को सर्वाधिक गोलकर्ता हुन् ।

नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ हिमाल सबैभन्दा लोकप्रिय खेलाडीका रूपमा चिनिन्छन् । अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ । सो अवसरमा रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो सपना पूरा भएको बताइन् ।

विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले यो अवार्ड आयोजना हुँदा धेरै वर्ष मञ्चमा पर्फमेन्स गरेको उल्लेख गर्दै यसपल्ट फरक भुमिकाबाट अवार्डमा जोडिन पाउँदा धेरै खुशी लागेको बताए ।

पिपल्स च्वाइसको विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका प्रमुख प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमइ खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आईतवार नै शुरु भइसकेको छ ।

सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेज गर्नुपर्नेछ), राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ ।

मञ्च र आइएमइ खल्तीबीच सहकार्य
आईतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आइएमइ खल्तीबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा गौतमले स्पोर्ट्स अवार्ड पोखरामा हुनुसँगै खल्तीसँगको सम्झौतालाई अवार्डको नयाँ र फरकपन रहेको बताएका छन् । गौतमले आइएमइ खल्तीले स्पार्ट्स अवार्डमा मनोनयनमा परेका र विजेता सबैलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए ।

मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन् । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ ।

अन्य विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् । यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७ औं वर्ष सहकार्य गरिसकेको छ । अवार्ड कार्यक्रमको प्रवर्धकको रूपमा रहेको पोखरा महानगरपालिका र मञ्चबीच सम्झौता पनि भइसकेको छ ।

प्रकाशित मिति २०८२ भदौ १ गते आइतबार ०७:३८
हजुरको प्रतिक्रिया