२०८३ साउन २१ गते बिहीबार

साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली आज भुटान जाँदै

साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली आज भुटान जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २ गते सोमबार ०९:०६

चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ ।
नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मिहिनत गरेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ

पोखरा ।

यही २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न नेपाली महिला टोली आज भुटान जाँदैछ ।

आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो । च्याम्पियनसिप भुटानस्थित चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले २० अगस्टमा भारतविरुद्ध खेल्नेछ । सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन् ।

चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ ।

यसैबीच नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार भएको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मिहिनत गरेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मिहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन् ।

च्याम्पियनसिप आर्टिफिसियल टर्फमा हुने भएकाले नेपाली टोलीले पनि टर्फमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन् । उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन् ।

अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन् । साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन् ।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएको कुरामा खेलाडीले पनि धेरै मिहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन् ।

डबल राउण्ड रोबिन लिगमा हुने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल छन् ।

खेल तालिकाअनुसार नेपालले भारतसँग २० र २९ अगस्टमा, भुटानसँग २२ र ३१ अगस्टमा तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०९:०६
हजुरको प्रतिक्रिया