म्याग्दी ।
हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ ।
इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको महत्व कायम रहेको र उपलब्ध सेवाका बारेमा विद्यालयम पुगेर विद्यार्थीलाई जानकारी गराउने अभियान सुरू भएको हो ।
बेनी नगरपालिका–८, बसपार्कमा अवस्थित बालमन्दिर माविमा आयोजित कार्यक्रममा हुलाक टिकटको महत्वका बारेमा जानकारी सहित डाँक सेवा, द्रुत डाँक सेवा, ढुवानी प्रणाली, सुचना तथा सञ्चारमाध्यम, सूचनाको हक लगायतका विषयमा कार्यालय रमेश थापा,खरिदार मिनबहादुर बरुवाल र सम्झना भण्डारी बानियाँले सहजीकरण गरेका थिए ।
सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकारी र ब्यक्तिगत चिठीहरू आदानप्रदानको भरपर्दाे माध्यम हुलाक सेवा रहेको बताउँदै कार्यालय प्रमुख थापाले विद्यार्थीले शैक्षिक गतिविधिमा समेत हुलाकबाट साम्रागी मगाएर पढ्न सक्ने बताए ।
विद्यार्थीसँग हुलाक सेवा’ मा विद्यार्थीलाई पत्र पठाउने तरिका, हुलाक टिकटको इतिहास, महत्व र प्रयोगका साथै जिल्लाभित्र हुलाक कार्यालयको संरचनाबाट हुने कार्यहरूका बारेमा समेत जानकारी गराइएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले विकशित देशमा हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरेको पाइएको र हरेक नागरिकले हुलाक सेवा प्रयोग नगरी नहुने सरकारी सयन्त्र बनाउने गरेको अवस्थामा नेपालमा यसको महत्व अझै धेरै रहेको बताएका थिए ।
कार्यक्रमले विद्यार्थीमार्फत समुदायस्तरमा हुलाक सेवाका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीको हुलाकबाट हुने माग र चाहनाको पहिचान गरी सम्बोधन गर्ने, हुलाक सेवा अत्यावश्यक भएकाले नियमित प्रयोगको सन्देश प्रवाह गरेको बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीको भनाई छ ।

विद्यार्थीले हुलाक बिर्सिएको अवस्थामा विद्यालयमै आएर हुलाकको महत्व बुझाउने कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।
म्याग्दीमा एक हुलाक कार्यालय, ५ पालिकास्तरीय र २८ अतिरिक्त हुलाक सेवा छ ।
प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार १०:५१




