पोखरा ।
विश्व पर्यटन दिवसको अवसरमा असोज ४ गते पोखरामा दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।
पोखरा क्लिक प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । दौड विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा रहेको कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुनेछ ।
८ किलोमिटर दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए । अघिल्लो संस्करणको तुलनामा पुरस्कार दोब्बर गरिएको छ भने दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यबस्था गरिएको छ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार नगद प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।
वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्ने छ, अनलाइन फारम आजदेखि खुल्ला गरिएको छ । भदौं २५ गतेसम्म आफ्नो नाम दर्ता गराउन सकिनेछ ।
प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०८:१८




