पोखरा ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।
डार्विनको पार्मस्र्टनमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक खेलमा जित निकालेको छ ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
तर मंगलबार होबर्ट हुरिकेन्स्सविरुद्ध भएको आफ्नो चौथो खेलमा भने नेपाल ६६ रनले विजयी भएको थियो ।
नेपाल आज पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रंदैछ । मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ ।
११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।
नेपालले चार खेलमा एक जित र तीन हारसहित २ अंक जोडेर आठौं स्थानमा छ ।
यसपछि नेपालले अर्को खेल आउँदो शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
अस्ट्रेलियामा टप इन्ड टी–२० शृंखलापछि नेपालले अभ्यास खेल पनि खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले टप इन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।
प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०९:२७




