काठमाडौं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताएकी हुन् । उनले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको उल्लेख गरिन् ।
संसद अहिले निरीह थलो भएको र कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरिन् । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् ।
‘राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरिह थलो भएर बसिरहेको छ । कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन,’ उनले भनिन् ।
प्रकाशित मिति २०८२ भदौ ५ गते बिहीबार ०६:४२




