पोखरा, ७ भदौ ।
हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–२७ ले आयोजना गरेको तीजगीत प्रतियोगितामा सुन्दरी प्लट आमा समूह रिठेपानी प्रथम स्थान हासिल गरेको छ । वडाले हरेक वर्ष झैँ गर्दै आएको प्रतियोगितामा विभिन्न टोल विकास संस्था र आमा समूहसहित २३ समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नर्मदा स्मृति आमा समूह तालचोक द्वितीय, डाँडाको नाक आमा समूह तृतीय तथा शिरोमणि ज्यामिरकुना आमा समूह र पण्डितथर आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सदस्य जितेन्द्र क्षेत्रीले जानकारी दिए । नृत्यतर्फ माछापुच्छ्रे आमा समूह प्रथम र डाँडाको नाक आमा समूह द्वितीय बनेका छन् । विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वना विजेतालाई पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि गण्डकी प्रदेशकी सभासद सरस्वती गुरुङले उद्घाटन गर्दै तडक–भडकभन्दा सादगीपूर्ण तीज मनाउँदै गीतमार्फत महिलाले राष्ट्रिय राजनीति, वैदेशिक रोजगार र कृषिजन्य उत्पादनजस्ता विषय उठान गर्नुपर्नेमा जोड दिएकी थिइन् । वडाअध्यक्ष पुर्णकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बुद्धिमाया थापा मगरले राखेकी थिइन् भने सह–संयोजक लक्ष्मी बिकले सञ्चालन गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा लोकदोहोरी गायक जीवन दाहाल, शिवहरि ढुगाना, प्रेमराज अधिकारी र सिला ढकाल रहेका थिए ।
प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०२:३९




