बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने दिज गाउँ आझेलमा परेको छ ।
विकास निर्माण र प्रचारप्रसार नहुँदा यो गाउँ आझेलमा परेको हो । वरिपरि घना जंगल । छेउमै सुसाउने उत्तरगंगा । जसको छेउमै ठक्क बसेको छ दिज गाउँ ।
काठैकाठले सजाएर बनाएका घर र गाउँले जनजीवन आगन्तुक आकर्षण गर्ने माध्यम बनेको छ ।
एकै ठाउँमा जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहनले अझ बढी चाख लाग्दो छ ।

ढोरपाटन उपत्यकाभन्दा केही पर पट्टी रहेको दिज गाउँ संभावना हुँदा हुँदै पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।
ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा अहिले विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार भने कत्ति पनि हुन सकेको छैन ।
प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहानेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।
लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत लगायत विकासको पूर्वधारले नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको छ ।
दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नै नीति बनाएर लाग्न थालेको हो ।
दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले अहिले पनि बजारबाट बोकेरै उपभाग्य सामान ढुवानी गर्नु पर्ने बाध्यता छ ।
ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् ।
यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले घर बनेका छैनन् ।

पछिल्लो समय विस्तारै विकासले गति लिन थालेको छ भने फाट्टफुट्ट पर्यटक पनि पुग्न थालेका छन् ।
गाउँमा पुग्नका लागि उत्तरगंगा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नाका लागि पनि पर्यटकहरु दिज पुग्ने गर्छन् ।





