२०८३ असोज २४ गते शनिबार

पोखरामा तीज महोत्सवको रौनक

पोखरामा तीज महोत्सवको रौनक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०३:३४

पोखरा । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याऔं’ भन्ने नाराका साथ पर्यटनको राजधानी पोखरामा ‘तेस्रो तीज सांस्कृतिक २०८२ ’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानको आयोजनामा लेकसाइडस्थित बाराहीघाटमा...

मौलिकता जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड

पोखरा ।

‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याऔं’ भन्ने नाराका साथ पर्यटनको राजधानी पोखरामा ‘तेस्रो तीज सांस्कृतिक २०८२ ’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानको आयोजनामा लेकसाइडस्थित बाराहीघाटमा आजदेखि सुरु भएको महोत्सवले तीजको सांस्कृतिक मौलिकतालाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ ।

महोत्सव उद्घाटनअघि बिहान हल्लनचोकबाट नौमती बाजा र विभिन्न सांस्कृतिक झाँकीसहित भव्य र्‍याली निकालिएको थियो । र्‍यालीमा पर्यटन व्यवसायी, आमा समूह, दिदीबहिनी समूह र विभिन्न सांस्कृतिक समूहहरूको उत्साहजनक सहभागिताले लेकसाइडको वातावरण नै तीजमय बनेको थियो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले तीजलाई भड्किलो र खर्चिलो बनाउने प्रवृत्ति बढेको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिए । ‘यस्ता महोत्सवले सांस्कृतिक संरक्षणका साथै महिलाहरूको नेतृत्व र क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्,’ उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाश बरालले योजनाबद्ध विकासले मात्र देश निर्माण सम्भव हुने बताए भने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीजले महिलालाई संगठित गर्दै नेतृत्व विकासमा सहयोग पुर्‍याएको धारणा राखिन् । उद्घाटन समारोहमा चर्चित लोकगायिका हरिदेवी कोइरालाले मौलिक तीज गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

दुई दिनसम्म चल्ने महोत्सवको मुख्य आकर्षणका रूपमा खुला तीज गीत प्रतियोगिता रहेको छ । महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार प्रतियोगितामा प्रथम हुने समूहले नगद ३५ हजार, द्वितीयले २५ हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक १० समूहलाई सान्त्वनास्वरुप जनही ४ हजार तथा उत्कृष्ट नृत्य गर्ने समूहलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले महोत्सवले नेपाली महिलाको मौलिक संस्कृतिलाई जीवन्त राख्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताइन् । उनले महोत्सवको दोस्रो दिन रस्साकसी, घैंटो फुटाउने र साडी दौडजस्ता रमाइला खेलकुद प्रतियोगिता आयोजना हुनेछन् । साथै, महिला सशक्तीकरणका विषयमा दुईवटा विशेष संवाद कार्यक्रम टक सो पनि राखिएको बताइएको छ ।

 

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०३:३४
हजुरको प्रतिक्रिया