२०८३ साउन २१ गते बिहीबार

साम्बालाई तनहुँमा सम्मान

साम्बालाई तनहुँमा सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०५:१२

कार्यक्रममा साम्बासँग तस्बिर खिचाउने र हस्ताक्षर लिने बालबालिकाको भीड नै लागेको थियो ।

तनहुँ

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मानित भएकी छन् । हरितालिका तिजको अवसर पारेर साम्बालाई तनहुँमा सम्मान गरिएको हो ।

महिला फुटबलको विकाससँगै महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै उनलाई मंगलबार तनहुँको दुलेगौंडामा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी नगरपालिका–४ ले आयोजना गरेको तिज गीत प्रतियोगिताको अवसरमा उनलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वति गुरुङ, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सम्मान दोसल्ला र प्रशंसापत्रले सम्मान गरे ।

सम्मानित भएपछि बोल्दै उनले बालबालिकालाई जे विषयमा रुची छ त्यसैमा परिवारले समर्थन गरेर अगाडि बढाउनुपर्ने बताइन् ।

बाल्यकालमा मोजाको भकुन्डे खोल्दा परिवारले दिएको साथलाई स्मरण गर्दै उनले भनिन्, ‘समाजबाट नकरात्मक तर्कहरु आउन सक्छन् । ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ ।’ सही बाटोमा हिँडेको बेला बालबालिकाको रुची अनुसार अगाडि बढ्न दिनुपर्ने उनको भनाइ थियो ।

‘मलाई मेरो बुबाममीले खेलको लागि कहिल्यै पनि रोक्नुभएन । तर, काम सकाउनुपथ्र्यो घरको’, सावित्रा भन्छिन्, ‘काम सकेपछि जहाँ जानपनि छुट थियो ।’ खाली खुट्टा मोजाको बल खेलेर आफूले सुरुवात गरेको उनको भनाइ थियो । ‘म काठमाडौं जाने अघिल्लो दिनसम्म पनि जुत्ता थिएन । मोजाको बल छाडेर गाउँबाट विदा भएको थियो । त्यो अवस्थादेखि आजको ठाउँमा आइपुगेको छु’, बालबालिकालाई प्रेरित गर्दै उनले सुनाइन् । समाज परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्ने साम्बाले सुझाइन् । सामाजिक सञ्जाल र मोबाइलबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा साम्बासँग तस्बिर खिचाउने र हस्ताक्षर लिने बालबालिकाको भीड नै लागेको थियो ।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०५:१२
हजुरको प्रतिक्रिया