२०८३ साउन २१ गते बिहीबार

कमलाको मकै पसल, घुम्न जानेहरुले लिन्छन् स्वाद

कमलाको मकै पसल, घुम्न जानेहरुले लिन्छन् स्वाद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १२ गते बिहीबार १२:५२

बेनी । बेनी नगरपालिका–७ कालिगण्डकी नदी किनारमा निर्माण गरिएको रिङरोड भाइरल रोडले दैनिक जीविकोपार्जन गर्ने सडक व्यवसायीको आम्दानी बढाएको छ । खोटाङकी कमला मगर त्यसैको उदाहरण बनेकी छन् । डेढ महिनादेखि श्रीमानसँगै बेनीमा बसेकी...

बेनी ।

बेनी नगरपालिका–७ कालिगण्डकी नदी किनारमा निर्माण गरिएको रिङरोड भाइरल रोडले दैनिक जीविकोपार्जन गर्ने सडक व्यवसायीको आम्दानी बढाएको छ । खोटाङकी कमला मगर त्यसैको उदाहरण बनेकी छन् । डेढ महिनादेखि श्रीमानसँगै बेनीमा बसेकी कमला मगरले बजारबाट ल्याएको हरियो मकै पोलेर बिक्री गर्दै आएकी छन् । दैनिक ४० देखि ७० गोटासम्म मकै बेच्ने उनले प्रतिगोटा ५० रुपैयाँ लिने बताइन् । खर्च कटाएर प्रतिगोटामा करिब २० रुपैयाँ फाइदा हुने भएकाले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
बजारमा फलफुल बोक्दै बेच्ने गरेकी कमलाको दैनिकी रिङरोड बनेसँगै बदलिएको छ । अब उनी बिहानदेखि बेलुकीसम्म आगोमा मकै पोल्दै ग्राहकलाई बिक्री गर्ने गर्छिन् । “रिङरोडमा घुम्न आउने धेरैलाई पोलेको मकै मन पर्छ,” कमलाले भनिन्, “ग्राहक बढेसँगै आम्दानी पनि बढेको छ ।”
बेनी संरक्षणका लागि बनाइएको तटबन्धमाथि आरसीसी ढलान गरेर तयार गरिएको यो रिङरोड वैकल्पिक सडकका रूपमा विकसित भएको छ । कालिपुलस्थित कालिगण्डकी मोटरेबल पुलदेखि म्याग्दी खोलाको बहुउद्देश्यीय मैदानसम्म करिब ९ सय मिटर लम्बिएको यो सडक आसपासमा म्याग्दी जेसीज, नेपाल भाषा मंकाखल र थकाली सेवा समाजको भवन भएकाले त्यहाँ भीडभाड हुने गरेको छ ।
त्यस क्षेत्रमा पैदलयात्रीदेखि सवारी चालकसम्मले दिउँसोको समयमा मकैसहित विभिन्न खानेकुरा किन्न थालेका छन् । यसरी रिङरोडले कमला जस्तै दर्जनौं साना व्यवसायीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको छ ।

प्रकाशित मिति २०८२ भदौ १२ गते बिहीबार १२:५२
हजुरको प्रतिक्रिया