काठमाडौं ।
प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूचि छ । प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन ।
ओलीले संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका छन् ।
त्यस्तै आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।
यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ ।
प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०८:५७




