पोखरा ।
नेपाललाई पराजित गर्दै भारतले एक खेलअगाबै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हिजो भएको खेलमा भारतले नेपाललाई ५–० गोलले पराजित गरेको गर्दै तेस्रोपल्ट साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो ।
भारतले यसअघि सन् २०१८ र २०१९ मा लगातार दुईपल्ट उपाधि जितेको थियो ।
भारतको जितमा पेरल फर्नान्डेज र दिव्यानी लिन्डाले समान २ गोल गरे । त्यस्तै निरा चानुले एक गोल थपिनन् ।
खेलको पाँचौं मिनेटमै निराको गोलमार्फत भारतले सुरुआती अग्रता लिएको थियो । १५ र ४३औं मिनेटमा परेले दुई गोल गर्दा भारतले पहिलो हाफमै ३–० को अग्रता लियो ।
यसअघि भारतसँग भएको पहिलो खेलमा पनि नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो ।
नेपाल यस खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिसकेको थियो । नेपालले ५ खेलमा १ जित मात्र निकालेको छ ।
डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा भारत ५ खेलमा १५ अंक जोडेर शीर्षमा रहँदै च्याम्पियन नै बनेको हो भने बंगलादेश ५ खेलमा १० अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ ।
जितविहीन भुटान १ अंकसहित चौथोमा छ । पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २–१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
च्याम्पियनसिपअन्तर्ग अब नेपालले अन्तिम खेलमा भुटानसंग खेल्दैछ भने भारतले बंगलादेशसंग खेल्दैछ ।
नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।
प्रकाशित मिति २०८२ भदौ १४ गते शनिबार ०९:०१




