तनहुँ ।
तनहुँको दमौलीमा आइतबार शान्ति पदयात्रा निकालिएको छ । नेपाल जेसीजको आयोजना र व्यास नगर जेसीजको आतिथ्यतामा दमौलीमा जारी नेपाल जेसीज क्षेत्र (ख) सम्मेलनको अवसरमा शान्ति पदयात्रा निकालिएको हो । विश्व शान्तिको कामना गर्दै पदयात्रा निकालिएको हो । विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको पदयात्रा दमौली बजार परिक्रमा गरी सम्मेलनस्थलको सभाहलमा आएर कार्यक्रममा परिणत भएको हो ।
जातजाति, संघसंस्था, जेसीज क्षेत्र (ख) अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीको शान्ति पदयात्रामा सहभागी भएको सम्मेलनका निर्देशक सुरेश पुरीले बताए । शनिबारदेखि सुरु सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयमा छलफलसँगै निर्णय हुनेछ । तनहुँका धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाको परिचय तथा प्रवद्र्धन गर्ने, विभिन्न स्थानबाट भूगोल र समुदायका युवासँग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु हुने बताइएको छ ।
सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।




