स्क्रब टाइफस के हाे ? कसरी बच्ने ?
पाेखरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका हुन् ।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनुजस्ता लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन) को अवस्था पनि सिर्जना हुनसक्ने छ ।
मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताएका छन् । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ ।
स्क्रब टाइफस के हाे ?
मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
लक्षण :
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।
बच्ने उपाय
खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।
प्रकाशित मिति २०७८ भदौ १९ गते शनिबार ०४:२३



