काठमाडौं ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गरेकी छिन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताइन्। उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। ‘संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्’ ,उनको दृढ अडान छ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई उनले आधारहीन भएको बताइन्।
उनले भनिन्, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन्। यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो।’ उनले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको प्रष्ट्याउनु भयो। ‘हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन’ उनको स्पष्टोक्ति छ।
आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उनले बताइन्।
उनले सरकारका गठबन्धन दलहरू कांग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गरिन्। ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन। मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ’, उनले भनिन्।
अमेरिकी दुतावासलाई लेखिएको भनिएको चिठीको विषयमा उनले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको बताइन्।
आरोपहरूको प्रहार आफूमाथि व्यक्ति, महिला, जनजाति वा हक्की स्वभावका कारण भएको हो कि भन्नेमा स्पष्टता नभएको बताइन्।
राजनीतिक प्रतिशोधबारे उनले भनिन्, ‘प्रतिशोधले देश अघि बढ्दैन। प्रतिपक्षको भावना बुझेर जनमुद्दाहरू– स्कुल, बाटोघाटो– मा छलफल गर्नुपर्छ।’
आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन आग्रह गरिन्।




