काठमाडौं ।
चीनको पाँच दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राति स्वदेश फर्किएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए ।
चीन भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली हिजो बेलुकी स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको बताए ।
चीनका राष्ट्रपति सीसँगको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल भएको जनाएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएकालगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै त्यो समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको सचिव राईले उल्लेख गरे ।
साथै उनले शांघाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र÷सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवद्र्धन तथा दिगो विकास हासिल गर्नेलगायत विषयमा विचारहरू प्रस्तुत गर्दै शांघाई सहयोग संगठनमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको बताएका थिए ।
साथै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री ओली र लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति, समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री, कम्बोडिया अधिराज्यका प्रधानमन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको प्रेस नोटमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ भदौ १९ गते बिहीबार ०९:०१




