पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो । बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ ।
बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने भएको छ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहकाबिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख गौतमले जानकारी दिए ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति २०८२ भदौ १९ गते बिहीबार ०९:०३




