पोखरा ।
ताजिकिस्तानमा हिजोदेखि सुरु भएको एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह के को पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ताजिकिस्तानमा पराजित भएको छ ।
डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।
ताजिकिस्तानका लागि फरवार्ड अजिज बोएभ मुहम्मदालीले दुई गोल गरे भने रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे ।
खेल अवधीभर नै नेपाललाई दबाबमा राखेको ताजिकिस्तानले पहिलो हाफमा एक गोल गरेपनि दोस्रो हाफमा तीन गोल थपेको थियो ।
त्यसमा पनि घरेलु टोलीले अन्तिम समयमा दुई गोल गरेको थियो । सुरुआती दुई गोल मिडफिल्डर आमादोनी कामोलोभको ‘असिस्ट’मा सम्भव भएका हुन् ।
निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहेको अवस्थामा मुहम्मादालीले टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए ।
यस्तै रहमात्जोदाले ९०औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । यस्तै सारिपोभ डालेरले इन्जुरी टाइमको पहिलो मिनेटमा एक गोल थपे ।
समूह के मा रहको नेपालले अब आफ्नो दोस्रो खेल सेप्टेम्बर ६ अर्थात २१ गते शनिबार सिरियासँग खेल्नेछ ।
खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ ।
प्रकाशित मिति २०८२ भदौ १९ गते बिहीबार ०९:०५




