पोखरा ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग आजदेखि पोखरामा सुरु हुँदैछ ।
इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा सुरु हुने लिगको उद्घाटन खेलमा आज साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिश्पर्धा हुनेछ ।
उद्घाटन खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । आज नै दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिच दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।
९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमबाट नौ देशका १८ विदेशी खेलाडी पोखराको मैदानमा उत्रदै छन् ।
अक्सनबाट सबै टोलीले मार्कीसहित ८–८ जना खेलाडी अनुबन्ध गर्दा ट्यालेन्ट हन्टबाट १ र ३ जना विदेशी खेलाडी भित्र्याएका छन् ।
यसपटक थाइल्याण्ड, नेदरल्याण्ड्स, रसियादेखि ब्राजिलसम्मका खेलाडी विभिन्न टोलीबाट कोर्टमा उत्रिने छन् ।
एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिगको रुपमा रहेको प्रतियोगिताले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्मको रुपमा रहने आयोजकको दाबी छ ।
प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०९:०६




