२०८३ असोज २५ गते आइतबार

एमालेको विधान महाधिवेशन आजदेखि शुरू हुँदै

एमालेको विधान महाधिवेशन आजदेखि शुरू हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २० गते शुक्रबार ०९:११

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

काठमाडौं ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ ।

ललितपुरको गोदावरीमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत हुने भएको छ । नेता थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराएका थिए ।

विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ ।

आजदेखि ३ दिन सम्म चल्ने महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार तीन सय ४१ जनाको सहभागी हुनेछन् ।

भोली सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइनेछ ।

करिब ३ हजार सिट क्षमताको हल छिर्न बनाइएका ४ वटा प्रवेशद्वारमध्ये पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश हुनेछ ।  अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।

त्यस्तै स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक दस्तावेजमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णयलगायत पाँच बुँदामा असहमति राखिएको छ ।

फरक दस्तावेजमा पार्टीमा रहेको लोकतान्त्रीकरण कार्यान्वयनमा जोडसँगै एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने र ७० वर्षे उमेर हद कायम हुनुपर्ने उल्लेख छ ।

अहिले एमालेले यी दुवै प्रावधान नराखी विधान संशोधन प्रस्ताव अघि बढाएको छ ।

हिजोको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका थिए ।

यसैबीच एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको व्यक्तित्व र योगदानलाई विवादमा नतान्न आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०९:११
हजुरको प्रतिक्रिया