तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले हाटबजार विस्तार गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारको अमिलबोटेमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुदै आएकोमा नयाँ स्थानमा पनि विस्तार गर्न लागेको हो ।अबदेखि सोमबार आँबुखरैनी–२ स्थित बसपार्क क्षेत्रमा हाटबजार सञ्चालनको तयारी छ । भदौ ३० गतेदेखि बसपार्कमा पनि हाटबजार सञ्चालन हुने कृषि विकास अधिकृत सन्तोष केसीले जानकारी दिए ।कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरेर हाटबजार विस्तार गर्न लागेको उनको भनाइ छ । स्वदेशी उत्पादनलाई थप प्रबद्र्धन गर्दै कृषि उपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागिएको उनले बताए ।अमिलबोटेमा २०७९ फागुन तेस्रो सातादेखि हाटबजार सञ्चालनमा आएको हो । हाटबजार सञ्चालनमा आएपछि बारीमा सिजनको बेला फलेका तरकारी, सागपात मात्रै नभएर जंगलमा पाइने निगुरो, सिस्नु, सालको पात, पानीअमला आम्दानीको गतिलो स्रोत बनेको छ । हाटबजारमा ल्याउनेवित्तिकै उपभोक्ताले खोसाखोस गर्छन् । गाउँघरका उपजले सोच्दै नसोचेको बजार पाएपछि आँबुखैरेनीका किसान दंग छन् ।अर्गानिक र रैथाने उपज किसानबाट सिधैँ उपभोक्ताले किन्ने भएकाले विचौलियाले असुल्ने रकम पनि किसानले नै पाएका छन् । तनहुँमा हाटबजार प्रथा हराइसकेको अवस्थामा आँबुखैरेनीले सञ्चालनमा ल्याएर पहिचानको रुपमा स्थापित गर्न सफल भएको हो ।
प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०३:१८




