पोखरा ।
नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल शनिबार हुँदैछ ।
खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ ।
फिफा विण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ ।
नेपालको सिनियर टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो ।
दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलबार हुनेछ । दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ ।
दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ । विजेताले ट्रफी र पदक प्राप्त गर्ने एन्फाले जनाएको छ ।
यसैबीच शुक्रबार भएको प्री–म्याच सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले जहिल्यै पनि बंगलादेशसँग खेल्दा प्रतिष्पर्धात्मक खेल हुने गरेको बताएका छन् ।
तर आफूहरू पनि शनिवार हुने खेलका लागि तयार रहेको उनको भनाइ छ । उनले बंगलादेश बलियो टोली रहेको र प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरेका छन् ।
पछिल्लो दुई वर्ष घरेलु मैदानमा फुटबल खेल्न नपाउनु दुःखद् पक्ष रहेको उनको भनाइ छ । तर लामो समयपछि यो मैदानमा फर्किदा समर्थकका लागि सुखद् पक्ष रहेको र सोहीअनुरूप नतिजा ल्याउने उनले आशा व्यक्त गरेका छन् ।
बंगलादेश राम्रो टोली रहेको र तयारी पनि प्रभावकारी रूपमा गरेको कप्तान किरणले उल्लेख गरे ।
त्यसैले पनि बंगलादेशसँग सजक भएर खेल्ने उनको भनाइ छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लिग खेल्ने तालिका छ ।
प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०९:११




