पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।
शनिबार पोखरामा भएको नेपाल दृष्टिविहीन कल्याण संघको ३८औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले अपांगता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सेदार रहेको बताए ।
शैक्षिक विकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपांगता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा भन्दै उनले एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न सुझाव दिए ।
अपांगता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा प्रमुख भट्टले जोड दिए ।
नेपाल दृष्टिविहिन कल्याण संघका केन्द्रिय अध्यक्ष तीर्थराज वन्तले सामाजिक संघसंस्थामा राजनितिक हस्तक्षेपको विरोध गरे ।
उनले गैह्रनाफामुलक संस्थामा स्वार्थको राजनिति हाबी भइरहेको भन्दै तटस्थताको आवश्यकता रहेको रहेको उल्लेख गरे ।
२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको उनले जानकारी दिए ।
नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखाका अध्यक्ष टेकमान प्राधानांगले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएकोे जानकारी दिए ।
त्यस्तै पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं लाइन्स क्लब अफ लेकसिटीका अध्यक्ष सुदिप प्राधानांगले दृष्टिविहिनहरुको व्यवसायिक प्रवद्र्धनमा प्राविधिक ज्ञान बारे सहकार्य गर्न सकिने बताए ।
सो अवसरमा संघका केन्द्रिय महासचिव पवन घिमिरेले संस्थाको प्रगति विवरण संक्षिप्त रुपमा पेश गरेका थिए ।
सोही अवसरमा अपांगताको क्षेत्रमा उल्लेखनिय कार्य गरेबापत उत्कृष्ट शाखा पुरस्कारबाट नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखा पचास हजार नगद राशीसहित पुरस्कृत भएको छ ।
त्यस्तै केशावती मास्के अपांगता उत्कृष्ट सेवा पुरस्कारबाट नेपाल नेत्रहिन संघका निर्देश अमृत राई पुरस्कृति भएका छन् । उनलाई तीस हजार नगद राशी सहित प्रमाण– पत्र प्रदान गरिएको थियो ।
डा. लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कारबाट विद्यार्थी दिपेश उपाध्यय र सचिना सुवेदीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
रोटरी क्लब अफ काष्ठमाण्डप पुरस्कारबाट हालै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने १५ जना दृष्टि अपांगता भएका विद्यार्थीलाई जनही दस हजारका दरले पुरस्कृत गरिएको थियो ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०९:११




