पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको तेस्रो दिन आज दुई खेल हुँदैछन् ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने आजको खेल काठमाडौं स्पाइकर्स र मधेस युनाईटेड तथा लुम्बिनी लाभाज र पोखरा निन्जाजबिच हुँदैछ ।
पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ । यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ ।
हिजो भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र मधेश युनाइटेड विजयी भएका थिए ।
शनिबार भएको दोस्रो खेलमा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकाल्यो । कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो ।
कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । लगातार दुई खेल जित्दै कर्णाली र ललितपुरले समान ६–६ अंक जोडेका छन् ।
यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।
हिजै सम्पन्न दिनको तेस्रो खेलमा मधेस युनाईटेडले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी प्रतियोगितामा ६ वटा टोली रहेका छन् ।
सिंगल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०९:३५




