काठमाडौं ।
नेपालीमा एउटा उखान छ ! आफ्नै हात जगन्नाथ । हो, यो उखानलाई सरकारको सामाजिक सञ्जालमाथि लगाएको रोकले चित्रण गरिएको छ ।
भदौ १९ गतेदेखि सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमा रोक लगाएको छ । सरकारले बारम्बार सामाजिक प्लेटफर्महरुलाई दर्ताको लागि आग्रह गरिएको थियो । तर,बारम्बार ताकेता गर्दा पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा नआएपछि सरकारले २६ वटा प्लेटफर्ममाथि प्रतिबन्ध लगायो ।
नेपाल दुरसञ्चार प्राधिकरणले मुलुकभर इन्टरनेट सेवा दिइ रहेका सेवा प्रदायिक कम्पनीलाई पत्रचार गरेपछि मुलुकमा सञ्चालित फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (पूर्व ट्विटर),व्हाट्सएप, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, सिग्नल लगायत प्लेटफर्महरू मुलुकमा निष्क्रिय भइसकेका छन् । सामाजिक सञ्जाल बन्द भएपनि नागरिकहरु आफ्न्तसँगको सहज सम्पर्कबाट बञ्चित भएका छन् । उनीहरुले आफ्ना आफन्तसँग भलाकुसारी गर्न पाएका छैनन् । प्रवासमा रहेका नेपालीको स्वदेशका आफन्तसँग हुने गरेकाे सहज सम्पर्क विच्छेद भएकाे छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले भने सामाजिक सञ्जालको मोह त्याग्न सकेका छैनन् । नेपालमा अहिले सामाजिक संञ्जाल फेसबुक बन्द छ । लाखौँ नागरिक फेसबुकको पहुँचबाट अलग्गिएका छन् ।
केही टाठाबाठाले विदेशको सर्भर भिपिएनको प्रयाेगले सामाजिक सञ्जाल चलाएका छन् भने धेरै नागरिक तथा मिडियाहरुको पहुँच भने फेसबुकबाट टुटेको छ । तर,जुन सरकारले सामाजिक प्लेटफर्ममाथि रोक लगायो , त्यहीँ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक चलाई रहेका छन् ।
उनले फेसबुकमा रोक लगाएको एकदिनपछि भदौ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नामक पेजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको पोष्ट गर्दा सरकारले गरेको निर्णयको आफैँले उल्लघंन गरे ।
प्रधानमन्त्रीको सचिवालयले फेसबुक या भिपिएन लगायतका एप्सको प्रयोग गरेर चलाए वा इन्टरनेट सेवा प्रदायकको पहुँच लिएर चलाए, त्यो प्रधानमन्त्री ओली नै जानुन् ! तर,ओलीको यो पोष्टले के सन्देश दिएको छ भने ओलीले आफ्नो देशलाई हेप्न नदिने भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपनि सामाजिक सञ्जालप्रतिको आफ्नाे मोह भने त्याग्न नसकेको प्रष्ट देखिएको छ ।

यस्तै, सरकारमै रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सामाजिक सञ्जालको मोह त्याग्न सकेका छैनन् । आँफू सम्मिलित सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपनि देउवा फेसबुकमा अझैँ सक्रिय छन् ।
देउवा आफैँ फेसबुक चलाउँछन्,वा उनको सचिवालयले चलाउँछ,त्यो देउवा नै जानुन ! तर,आफ्नै सरकारले रोक लगाएको सामाजिक सञ्जाल चलाउनु कत्तिको जायज हो,“त्यो चाहिँ हेक्का हुनैपर्छ ?
यो विषयलाई लिएर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पोष्टमा काठमाडौँ महानगरका मेयर बालेन शाहले कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए । देउवाले लेखेका छन् ।

त्यही पोस्टमा बालेनले लेखेका छन्,यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? उनले थप व्यङ्ग गरेका छन्, ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ! बालेनले कमेन्ट गरेसँगै देउवाको उक्त पोस्टमा इङ्गेजमेन्ट ह्वात्तै बढेको छ ।

हुन् त मेयर बालेन शाहले पनि भीपीएनबाटै फेसबुक चलाएको होलान् । यस्तै प्रतिपक्षी दल नेकपा माओवादीले त सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोध जनाउँदै आएको छ । विरोध गर्नु प्रत्तिपक्षीको धर्म पनि हो । तर,नागरिकको मोबाइल र सञ्चारमाध्यमको अफिसमा नचल्ने सामाजिक सञ्जाल नेताहरुको घर तथा मन्त्रालयमा चाहीँ कसरी चलिरहेका छन् ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि धमाधम फेसबुक पोष्ट पोस्ट्याई रहेका छन् । प्रचण्डले फेसबुकमा निजामती दिवसको शुभकामना दिँदै यस्तो लेखेका छन् ।
यी त ! प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीले प्रतिबन्धिति फेसबुक चलाएका उदाहरण । तर,मुलुकमा प्रतिबन्धित सामाजिक सञ्जाल धेरै नेता तथा सरकारी कर्मचारीले चलाएका छन् । उनीहरुले सामाजिक सञ्जालको मज्जा लिएपनि नागरिकमाथि भने अंकुश लगाएका छन् । सरकारका यो निर्णयले नागरिकमा अविश्वास बढ्दै गएको छ । जनआक्रोस फैलिँदै गएको छ ।
यहिँ विषयलाई लिएर सोमबार काठमाडौँमा जेनजीले सामाजिक सञ्जाल प्रतिबन्ध विरोध र्याली निकाल्ने भएको छ । सो विरोध र्यालीलाई नेपाली कांग्रेस र एमाले बाहेकका सबै दलले समर्थन गरेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाह पनि समर्थनमा रहेको जनाएका छन् । उमेर हदका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जाल मार्फत जानकारी गराएका छन् ।

भोलि काठमाडौँमा हुने विरोध ¥याली जेनजीको हो । जेनजीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध प्रदर्शन गर्न लागेको हो । सो आन्दोलनमा २८ वर्षमुनिका युवा–युवती सहभागि हुने भनिएको छ । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । सो आन्दोलनलाई समर्थन गर्न जेनजीले सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०६:१६




