काठमाडौं ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन २९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ ।
ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, सांगठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत पारित भएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिएका थिए ।
प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको बताए ।
उनले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताए । त्यस्तै महासचिव शंकर पोखरेलले जबजलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताए ।
यसैगरि विधान महाधिवेशनले २५ सदस्यीय केन्द्रिय निर्वाचन आयोगको गठन गरेको छ । आगामी ११ औं राष्ट्रिय महाधिवेशनका लागि विधान र नीति तर्जुमा गरेको छ भने डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग पनि निर्वाचित गरेको छ ।
विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार तीन सय ४१ जनाको सहभागिता थियो ।
प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०९:०६




