हर्क साम्पाङ र दुर्गा प्रसाई पनि जंगीअड्डामा
काठमाडाैं ।
आगामी सरकारको नेतृत्वको विषयलाई लिएर जेनजी समूहविच नै विवाद शुरू भएकाे छ ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेपनि सेनाकाे मुख्यालय बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।
कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् ।
यता, भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् । प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् ।
प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।
हर्क साम्पाङपनि जंगीअड्डा पुगेका छन् । उनीसँग भेटमा आएका विषयबारे सार्वजनिक भइसकेको छैन ।
आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भने भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’
प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०७:४६




