पोखरा ।
कास्की कारागारबाट भागेका कैदीबन्दी फर्कन थालेका छन् । शनिबार दिउँसोसम्म १२० जना फर्किएका हुन् ।
दोस्रो दिनको जेन–जी समूहको प्रदर्शनका क्रममा प्रर्दशनकारीले तोडफोडमा उत्रिएर कारागारका कैदी भगाएका थिए । कास्की कारागारका प्रशासन प्रमुख राजेन्द्र शर्माकाका अनुसार ७७३ कैदीबन्दी भागेका हुन् । तीमध्य ३५ जना महिला रहेका उनले बताए। कास्कीमा लमजुङकासमेत कैदीबन्दी थिए ।
‘कोही आफैं फर्किएर आउनुभएको छ । कोहीलाई प्रहरीले पक्राउ गरेर पठाएको हो’, शर्माले भने ।
कास्कीसँगै तनहुँ, गोरखा, म्याग्दी प्रहरीले पनि भागेका कैदीबन्दीलाई पक्राउ गरेर कारागारमा पठाइरहेको छ ।
तनहुँमा पनि ७८ जना कैदीबन्दी फर्किएका छन् । पक्राउ परेका र फर्किएका मध्य ९ जना महिला रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
तनहुँबाट ३२६ जना कैदीबन्दी भागेका हुन् । भागेका कैदीबन्दी २० जना महिला थिए। तनहुँमा पनि लमजुङका कैदीबन्दीसमेत छन् ।
म्याग्दी कारागारबाट ७६ जना कैदीबन्दी भागेका थिए । उनीहरुमध्य ३५ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
म्याग्दीमा कारागारबाट थुनुवा र कैदीलाई भगाउन सघाउने ५ जना पक्राउ परेका छन् ।




