पोखरा ।
जेन–जी प्रदर्शनका कारण बन्द पोखराका विद्यालय खोल्ने तयारी गरिएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न परिपत्र गरेसँगै खुलाउने तयारी गरिएको हो ।
शनिबार बसेको पोखरा महानगरपालिकाको बैठकले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । ‘विगत केहि समय देखि देखिएको असामान्य परिस्थितिको कारण विद्यालयहरु पूर्ण रुपमा बन्द भएकोमा पोखरा महानगर पालिका नगर कार्यपालिकाको निर्णय अनुसार सम्पूर्ण विद्यालयहरु असोज १ गतेदेखि नियमित संचालन गर्ने भनि निर्णय भएकोले सोही अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, आचार्यद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
पोखरामा सरकारी कार्यालय, प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पोखरा महानगरपालिका, विभिन्न राजनीतिक दलका कार्यालय र होटल तथा रेष्टुरेन्ट जेन–जी प्रदर्शनकारीले जलाएर क्षतविक्षत बनाएपनि विद्यालयहरुमा भने क्षति पुगेको छैन ।




