पोखरा ।
सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका महिलाहरूले आज जितिया व्रत बस्दैछन् ।
शनिबार पवित्र जलाशयमा नुहाएर व्रत संकल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् ।
आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।
शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास शुरु गरिएको हो ।
अष्टमी तिथि आइतबार बिहान ८ ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि शुरु भएको हो ।
निराहार व्रत सोमबार बिहान ७ बजेपछि समापन गर्न सकिने मिथिला पञ्चांग र विद्यापति पञ्चांगमा उल्लेख छ ।
मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ ।
जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिनु पर्ने व्रत विधान रहेको बताइन्छ ।
पितृपक्षमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखो खाने चलन छ ।
सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।
योसँगै बर्तालुले दिवंगत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकार गर्छन् ।
सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवंगत आफन्त महिलालाई तर्पण दिन्छन् ।
सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।
सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने परम्परा रहेको छ । जितिया पर्व नियमपूर्वक गर्नाले सन्तानको आयुमा वृद्धि हुने जनविश्वास रही आएको छ ।
प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०८:५५




