काठमाडौ ।
जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् ।
यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ ।
यो आन्दोलन र घटना क्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ ।
यो चुनावी सरकारको हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षतिमा व्यहोर्नेछ । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अली बढी प्रताडित हुनेछ । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए ।
जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुप¥यो ।
आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिन्थ्यो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा ब्यस्त देखिन्थे ।
केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो ।
स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पु¥याउन आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो ।
अब कहिले हुन्छ भने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुग्यो ।ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पु¥याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ ।
‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनु भयो । यो देशमा कहिल्यै आउदैनौं भन्नुभयो,’आयोजक टिमका एक सदस्यले भने,‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनु हुन्छ जस्तो लागेन । अरुलाई पनि नेपाल सुरक्षित छैन भन्नुभयो अर्को क्षति व्यहोर्नछौं ।’
आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमा नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै यति क्षति भयो भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना ग¥यौं । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर पर्नेछ,’उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर परेको छ । एउटा व्यवसायिक खुसी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडीबाट त्रसित भएपनि आपूmहरू सम्झाएको उल्लेख गरे ।
प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०२:०५




