काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ आज हुँदैछ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूमा पूर्व–अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो ।
खनाललाई अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय तथा अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री कार्कीले तीनैजना मन्त्रीको नाम सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाएकी छिन् ।
उनीहरूले आज शपथ लिएर कार्यभार सम्हाल्नेछन् ।
पूर्वसचिवसमेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् ।
कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुन् ।
त्यस्तै घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् ।
प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०९:२६




