पोखरा ।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण जलेर खण्डहर बनेको सवारी यातायात व्यवस्था कार्यालय कास्कीमा कर्मचारीहरूले आफैं सरसफाइ अभियान थालेका छन् ।
सोमबार कार्यालय समय सुरु भएपछि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरका कर्मचारीको रोहबरमा मुचुल्का उठाएपछि कार्यालयका कर्मचारी र केही यातायात व्यवसायी मिलेर सरसफाइमा जुटेका हुन् ।
कार्यालय प्रमुख ढाका प्रसाद शर्माका अनुसार मुख्य भवनबाट तत्काल सेवा दिन सकिने अवस्था नरहेकाले सुरुमा टहरा र क्यान्टिन प्रयोग गरेर अस्थायी रूपमा सेवा दिने तयारी भइरहेको छ ।
उनका अनुसार काम लाग्ने केही सामग्री बाँकी नरहेको र मुल भवन पूर्ण रूपमा प्रयोग अयोग्य छ ।
सुरुमा क्यान्टिनबाट सेवा सुरु गर्ने तयारी गरिएको र एक हप्तापछि सेवा दिन सकिन्छ भन्ने अनुमान रहेपनि ठ्याक्कै मिति भन्न सकिने अवस्था नरहेको उनले बताए ।
दैनिक करिब सात सय सेवाग्राही आउने उक्त कार्यालयमा रहेका कागजातसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
सेवाग्राहीको असुविधा कम गर्न प्रमुख शर्माले तत्काल सवारी साधनको विलबुक नवीकरण र जाँचपासजस्ता सेवा लिनुपर्ने उपभोक्तालाई नजिकैका डुम्रे र बागलुङस्थित यातायात व्यवस्था कार्यालय जान पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०९:११




