२०८३ असोज २३ गते शुक्रबार

साफ यू–१७ च्याम्पियनसिप : नेपालको विजयी शुरूवात, श्रीलंका २–० गोलले पराजित

साफ यू–१७ च्याम्पियनसिप : नेपालको विजयी शुरूवात, श्रीलंका २–० गोलले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०९:१४

जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब दोस्रो खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ ।

पोखरा ।

श्रीलंकालाई २–० गोलले हराउँदै नेपालले साफ यू–१७ च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ ।

सोमबारदेखि कोलोम्बोमा सुरु भएको च्याम्पियनसिपअन्तर्गत नेपालको जितमा दुबै गोल समिर कुमारले गरेका हुन ।

समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको हो । समिरले खेलको ५२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

प्रतिश थापा मगरले बायाँ भागबाट दिएको लामो क्रसमा पेनाल्टी बक्समा रहेका समिरले हेडमार्फत गोल गरेका हुन् ।

त्यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा उनले गोलकिपरलाई बिट गर्दै गोल गरे र नेपालको २–० को जित पक्का गरे ।

खेलको २७औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब दोस्रो खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ ।

यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेपछि मात्रै पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो भइसकेको छ ।

साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू–१७ च्याम्पियनसिपको ९ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई तथा पाकिस्तानले एक पटक उपाधि जितेको छ ।

नेपाल चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । नेपाल चार पटक नै भारतसँग पराजित भएको थियो ।

 

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०९:१४
हजुरको प्रतिक्रिया