सवारी चालक अनुमतिपत्रसँग सम्वन्धित ९५ प्रतिशत कागजात जलेर नष्ट
पोखरा ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले पोखराको यातायात व्यवस्था कार्यालय ध्वस्त भएको छ ।
यातायात व्यवस्था कार्यालयमा सुरक्षित नीजि तथा सार्वजनिक सवै सवारी साधनको रेकर्ड जलेर खरानी भएको यातायात कार्यालयले जनाएको छ ।
दुईदेखि ३ वर्षमा प्राप्त हुने स्मार्ट लाइसेन्स पनि केहि प्रदर्शनका क्रममा लुटिएका छन् भने केहि आगोमा परेर ध्वस्त भएका छन् ।

पब्लिक फोरके टेलिभिजनसँग कुरा गर्दै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीका सुचना अधिकारी डम्बरसिंह खड्काले कार्यालयमा रहेका सवारी चालक अनुमतिपत्रसँग सम्वन्धित ९५ प्रतिशत कागजात जलेर नष्ट भएको जनकारी दिए ।

खड्काका अनुसार करिब ८० हजार सवारी चालक अनुमतिपत्र लुटिएका वा आगजनीमा परेर जलेका छन् ।
उनले कागजात जलेर नष्ट हुँदा आम सर्वसाधारणले बोक्ने लाइसेन्सको वैधानिकता पुष्टि गर्ने आधार यातायात व्यवस्था कार्यालयसँग छैन् ।

लुटपाट भएका लाइसेन्सको दुरुपयोग हुने सम्भावना उत्तिकै छ । यता, लुटपाट भएका स्मार्ट लाइसेन्स लुटेराहरुले आम सर्वसाधारणसँग स्मार्ट लाइसेन्स चाहिने भए २ हजार लिएर आउनु भन्न थालेको सुनिएको खड्काले बताएका छन् ।
यातायात व्यवस्था विभागको अनलाइन प्रणालीमा सवै डाटा सुरक्षित रहेको जानकारी आएपनि ति लाइसेन्सहरु कहिले प्रिन्ट हुन्छन ? सवै डाटाहरु कार्यालयसम्म कहिले आइपुग्छन ? र सेवा कहिलेदेखि सुचारु हुन्छ यसै भन्न नसकिने सुचना अधिकारी डम्बरसिंह खड्काले बताए ।
लाईसेन्स मात्रै नभएर सवारीसाधनका प्रमाणित कागजातहरु समेत नष्ट भएका छन् । सवारीसाधनका ३ लाख ३० हजार भन्दा वढि फाईल मध्ये करिब २ सय फाईल मात्रै बाकिँ भएको कर्मचारी बताउँछन् ।
यसले सवारीसाधनको पहिचान, नवीकरण लगायतका वैधानिक प्रक्रियालाई दिर्घकालसम्म असर पार्ने देखिएको छ ।
यद्यपि विद्युतीय प्रणालीमा सुरक्षित गरिएका केही डाटा हुनसक्ने भएपनि एकिन हुन सकेको छैन ।





