पोखरा ।
मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक टोलीको कप्तानी नै गर्ने भएकी छन् ।
मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार साविक विजेता टोली वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने भएकी हुन् ।
यो टोलीमा इन्दुसहित ३ नेपाली खेलाडी छन् । इन्दुसँगै सावित्री धामी र रचना कुमारी चौधरीले पनि यही टोलीबाट खेल्ने छन् ।
मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा सिरिज यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुँदैछ ।
तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा यस पटक पाँच टोलीहरू– सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन प्रतिस्पर्धामा हुनेछन् ।
२०२० मा भएको पहिलो संस्करणमा ६ मुलुकका खेलाडीहरूले सहभागिता जनाएका थिए भने २०२४ को संस्करणमा ९ मुलुकका खेलाडीहरू खेलेका थिए ।
उद्घाटन संस्करणमा नर्थन क्वीन्स विजेता बनेको थियो भने दोस्रो संस्करण वेस्टर्न वन्डर वुमनले जितेको थियो। यसपटक उनीहरू उपाधि रक्षा गर्ने अभियानमा हुनेछन् ।
यस सिरिज नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर मात्र नभएर मलेसियाविरुद्धको टी–२०आई शृंखला र टी–२० विश्वकपको ग्लोबल छनोट तयारीका लागि पनि महत्वपूर्ण हुनेछ ।
प्रकाशित मिति २०८२ असोज ६ गते सोमबार १०:०३




