काठमाडौं ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरुलाई दिगो विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाका विषयहरु परिवर्तन भएपनि पुरानै ढंगबाट सूचना माग गर्ने प्रवृत्ति हटिनसकेको बताए ।
उनले सूचनाको माग गर्दा सार्वजनिक हितको विषय व्यक्तिगत सरोकारमा केन्द्रित हुँदा समस्या भइरहेको बताए । उनले प्रविधिको बढ्दो विकाससँगै सूचनामा सबैको पहुँच सुनिश्चित हुँदै गएको पनि बतााए ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रियामा अझै अस्पष्टता रहेको बताएकी छन् ।
तत्काल उपलब्ध गराउन सकिने सूचनाहरु समेत सात दिनसम्म ढिलाइ गरेर दिने परिपाटी गलत रहेको उनको भनाइ छ ।
उनले नागरिकमा र सूचना उपलब्ध गराउने निकायहरुलाई सूचनाको हकसम्बन्धी व्यवस्था स्पष्टसँग बुझाउन नसकिएकै कारण यस्तो समस्या आउने गरेको बताइन ।
उनले जिउज्यान वा धनसँग सम्बन्धित सूचना बढीमा २४ घण्टाभित्र दिनुपर्ने प्रावधान भएपनि सरकारी निकायहरुले त्यसको उल्लङ्घन गर्ने गरेको बताइन ।
सूचना प्रवाह र पारदर्शितामार्फत नागरिकलाई जिम्मेवार बनाउन सूचनाको हक महत्वपूर्ण हुने बताउँदै उनले तत्काल उपलब्ध हुने सूचनामा ढिलाइ नगर्न संवद्ध निकायलाई आग्रह गरेकी छन् ।
प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०९:२४




