काठमाडौं ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने बताएका छन् ।
आईतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । काँग्रेस पुनः माथि उठ्ने उनले बताए ।
भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने उनको भनाइ छ । पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोटसमेत उनले व्यक्त गरे ।।
प्रवक्ता महतले भने, ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौँ ।’
प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको उनले बताए ।
काँग्रेसले समीक्षासहित आउने कार्यदिशा तय गर्ने उनले उल्लेख गरे । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा काँग्रेसले गम्भीर चिन्तन गर्ने उनले बताए ।
यसैबीच काँग्रेसका प्रवक्ता डा. महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्नेमा जोड दिए ।
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने उनले स्पष्ट पारे ।
केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर उनको छ । अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने उनले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए ।
पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको प्रष्ट पारे ।
देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको उनको भनाइ थियो ।
प्रवक्ता महतले भने, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’
प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गरे ।
पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै उनले जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गरे ।
प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ११:०३




